Loading...

‘बजारमा सधैं नपाउने, गाउँघरका परिकार खाने रहर थियो,’ उनले भने, ‘म:म र चाउमिन मात्रै धेरै पाइने रहेछ ।’ हिजोआज जहाँका मेला, महोत्सव भए पनि पुराना खानेकुरा, बाली बिरुवा र प्रशोधनको तरिका हराएको बुझ्न सकिने घरेलु उद्योग सञ्चालक तुलसीप्रसाद देवकोटाले बताउँछन् । ‘कतिपय पुरानो जमानाका भनेर नयाँ पुस्ताले हेपेर हराए, कति विकासे आएर फेरिए,’ उनले भने । अल्लो, बेत–बाँस, निगाला र गहुँका छालीका सामग्री पनि देखिन छाडेको उनले बताए । महिला उद्यमी सुस्ता श्रेष्ठले भनिन्, ‘सामान किन्न सोधपुछ गर्छन्, किन्दैनन् ।’ स्थानीय नारायण दानीले भने, ‘लिंगे र रोटे पिङकै त चलन हरायो ।

हराउँदै बीउ
पाल्पाको चिदीपानीकी कमला पराजुलीले परम्परागत हिउँदे सिमीको बीउ गाउँभरि डुल्दा पाइनन् । पुराना धान, मकै, सिमी, बोडी, गोलभेडा कुनै पनि अन्न र तरकारी बालीको रैथाने बीउ पाउन मुस्किल रहेको उनले बताइन् । ‘पुराना केही पनि बीउ पाउन सकिने अवस्था छैन,’ उनले भनिन्, ‘गाउँभरि डुल्यो कहीं कतै पाउन सकिँदैन, बजार गयो विकासे बीउ ल्यायो, लगायो । चलन फेरियो, बानी फेरिएन ।’ नायरनमतलेसका धनबहादुर थापामगर गाउँमा गोलभेडाको बीउ नपाएपछि तानसेन भीमसेन टोलको एग्रोभेटमा बीउ किने । उनलाई गाउँमा धानको बीउ नपाएपछि पसलमा नामै टिकाएर हाइब्रिड (वर्णशंकर) जातको ‘गोरखनाथ’ धान मागे । धेरै फल्ने, चाँडै पाक्ने र दाना राम्रो लाग्ने विश्वासमा उनले यही जातको बीउ लगाउने योजना बनाएर आएका हुन् ।

‘पुराना जातका धानले थोरै उत्पादन दियो,’ उनले भने, ‘त्यही भएर अहिले नयाँ जाततिर लागेको हो ।’ उनी मात्र होइन, धानको बीउ राख्ने सिजनमा एग्रोभेटमा सबैको ध्यान नयाँ जातमा छ । अघिल्लो वर्ष कोही छिमेकीले लगायो र राम्रो फल्यो भन्ने हो भने अर्को वर्ष सबैलाई त्यही बीउ चाहिने उनले बताए । उनका अनुसार गाउँमा कहिकतै सिल्तुंङ (झिलिंगी), गहत र रातो सिमीबाहेक बीउ हतपत भेटिँदैन ।

बजारमा बर्सेनि अन्न र तरकारीका नयाँ जातका वर्णशंकर बीउ आउन थालेपछि कृषकको आकर्षण त्यतै छ । यसले गर्दा पुराना बीउ लोप भएका छन् । रामपुर १२ की राधा काफ्लेले भनिन्, ‘पुराना धान, मकै, तरकारीको बीउ सबै हराए ।’ अन्न र तरकारीका रैथाने बीउभन्दा थोरै जमिनमा बढी उत्पादन दिने बीउ लगाउने चलनले नयाँ जातमा आकर्षण बढेको उनले बताइन् । ‘पुराना धान, मकै र तरकारीका स्वाद त अहिले सपना हुन थाले,’ उनले भनिन् । कृषिका जानकार थमनबहादुर कार्कीका अनुसार जिल्लामा अत्यधिक प्रचलनमा आएका परम्परागत तरकारी र अन्नबालीको बीउ पाइनै छाडेको छ । धानकै कुरा गर्दा छोटे (मोटो), जर्नेली (मसिनो), काला नमक, काठे झिनुवा, अनदी, पात्ले (मोटो), हंसराज (मसिनो) जातको बीउ अहिले पाइनै छाडेको उनले बताए । जिल्ला कृषि विकास कार्यालयका प्राविधिक ज्ञानकुमार यादवले कृषकले उत्पादन कम हुने भन्दै उन्नत जात लगाउन थालेको बताए ।

कसले खोज्ने पुराना बाली
जनशक्ति अभाव र गरेको खेतीबाट लागत नउठ्ने भएपछि खाद्यान्नका रैथाने बाली हराउन थालेका हुन् । बजारको भर परेका किसानमा आफूले बीउ नराख्ने चलन बढेकाले पनि पुराना बीउ हराएका हुन् ।
पछिल्ला तीन वर्षको गुल्मीको खाद्यान्नको अवस्था हेर्दा यहाँका मुख्य बाली मकै, धान, गहुँ, र कोदोलगायत दलहन र तेलहन लगाउने क्षेत्रफल घटेको छ । यस्तै १० वर्षअघिसम्म राम्रो उत्पादन हुने फापर, जुनेलो, सिलाम, गहत, भुल्ले र तिललगायत बाली लोप भएका छन् । गहत, गहते सिमी, राजमा र कालो सिमी वर्षको १ क्विन्टलसम्म बेच्ने गरेका खड्गकोट ४ का सोमनाथ ढकालले अहिले खेती निकै कम हुने बताए । ‘फलाउन सके जति पनि बिक्छ,’ उनले भने । गाउँमा बजारका मसुरो, रहर र राजमालगायत सिमीका दालले स्थान पाउन थालेको उनले बताए । ‘गर्ने कोही छैन,’ उनले भने, ‘सबै किन्ने मात्र भएपछि बीउ कसले जोगाइदिने ।’

उच्च पहाडी क्षेत्रका रैथाने जातका सिलाम, जुनेलो, उवा र तिते फापरलगायत बाली लोपै भइसकेको किसान बताउँछन् । ‘खेती अब पुरानो पुस्ताको काँधमा छ, जो बलहीन छन्,’ कृषि विकासकी बाली संरक्षण अधिकृत सपना पन्थीले भनिन्, ‘ठिक्क खेती गर्ने । बजारमा पाइने बीउ लगाउने चलनले पुराना बाली मासिएका हुन् ।’ गुल्मीमा खेती हुने ३४ मध्ये १४ थरीका बालीको उत्पादन ३ वर्षदेखि नै घटदो छ । लगातार घटदै आएकामा धान, कोदो, चना, मास, भटमास र गहत छन् । त्यस्तै मकै, गहुँलगायत १२ प्रकारका बालीको उत्पादन स्थिर छ । वरिष्ठ कृषि विकास अधिकृत चक्रपाणी पन्थीले खानेबानीमा भएको परिवर्तनसँगै पुराना बाली हराउँदै गएको बताए । ‘मकै, भटमास खानेले अहिले चाउचाउ खान्छन्,’ उनले भने, ‘अचार बनाउँन प्रयोग हुने सिलाम छोडेर बजारमा पाइने तिलको प्रयोग बढदो छ ।’ उनले जिल्लामा बीउ प्रतिस्थापन दर भने १५ प्रतिशत मात्र रहेको बताए ।

गाउँले स्वाद कहाँ खोज्ने
लमजुङको इशानेश्वरका पूर्णचन्द्र पोखरेलले पाँचौं लमजुङ महोत्सवमा धित मर्नेगरी सिस्नोको खोले खाए । साथीभाइलाई पनि खुवाए । गुरुङ संग्रहालयसँगै सिउरुङका स्थानीयले होमस्टेमा पाइने खाजा र खानाको परिकार बनाएका थिए । ‘गाउँ जाने भन्दाभन्दै यतिकै भैगो । गाउँको स्वाद सहरमै चाख्न पाएँ,’ बेंसीसहर बस्दै आएका उनले भने । पूर्णलाल श्रेष्ठले कोदोको पीठोबाट बनाइएको ढिँडोको स्वाद लिए । ‘लोकल कुखुराको मासु । मह र घिउसँग कोदोको ढिँडो, वाह,’ उनले भने, ‘मेला महोत्सवबाहेक अन्त पुराना खानेकुरा पाइँदैन ।’ गीता घलेले सिस्नो र ढिँडो धेरै बिक्री भएको बताइन् ।

केही महिनाअघि लमजुङमा भएको खाद्य मेलामा गाउँगाउँबाट ल्याइका गाउँले उत्पादनले पारखीको मन जितेको थियो । गाउँलेका निगुरो, सिस्नो, कागुनो, गुन्द्रुक, कोदो, चामलको सेलरोटी, च्याउ, लेकाली गुन्द्रुक, भीर मौरीको मह, घर मौरीको मह, भटमास, कोदोको ढिँडो, मकै, सागपात, बोडी, फलफूल र लोकल कुखुराको मासुलगायत खानाका परिकार बनाइएका थिए । ‘हामी आफैं पनि सहरमा गाउँले स्वाद चाख्न पाउँदैनौं । गाउँमा गइरहने फुर्सद पनि नहुने,’ लमजुङ उद्योग वाणिज्य संघका अध्यक्ष रामकुमार श्रेष्ठले भने, ‘मेला महोत्सवकै बाहना बनाएर होमस्टेलाई सहरमा बोलाउने हो, गाउँले स्वाद यहीं लिने हो ।’
Loading...

Post a Comment

Loading...

11111111
 
Top