Loading...
महिलामा देखिने गम्भीर स्वास्थ्य समस्यामा स्तन क्यान्सर पनि पर्दछ । सामान्य विचार नपु¥याउँदा र बेलैमा रोगको निदान एवं उपचार गर्न नसक्दा स्तन क्यान्सरबाट कयौँ महिलाले अकालमै ज्यान गुमाउनु परिरहेको छ । जनचेतनाको अभाव, गरिबी, अशिक्षा र अज्ञानताका कारण स्तन क्यान्सरबारे महिलाले कुनै जानकारीसमेत पाउँदैनन् । विश्व स्वास्थ्य संगठका अनुसार नेपालमा हरेक वर्ष प्रत्येक एक लाखमा २१ दशमलब ८ जना महिलामा स्तन क्यान्सर देखापर्छ । र, ९ दशमलब ६ जनाको मृत्यु हुन्छ । स्तनमा भएका कोष-कोषिकाहरूमा असामान्य, अनियन्त्रित तथा अनावश्यक बृद्धिबाट बन्ने गिर्खा, गाँठागुँठी र निको नहुने घाउलाई स्तन क्यान्सर भनिन्छ ।
तपसिलका अवस्थामा स्तन क्यान्सरको सम्भावना बढी हुन्छः
  •     वंशाणुगत कारणबाट आमा, दिदी, बहिनी, छोरी वा नजिकका नातेदारहरूमा स्तन क्यान्सर भएमा ।
  •     ३० वर्षपछि बच्चा जन्माउने महिलाहरूमा ।
  •     बच्चा नजन्माएका महिलाहरूमा ।
  •     स्तनपान नगराउने महिलाहरूमा ।
  •     स्तनमा पहिलेदेखि नै गा“ठागु“ठी वा पुराना समस्या भएमा ।
  •     पहिले एउटा स्तनमा क्यान्सर भइसकेका महिलाहरूमा ।
  •    चिल्लो र बोसोयुक्त खाना बढी खाएमा ।
स्तनको क्यान्सरमा देखिने चिन्ह र लक्षणहरूः
  •     स्तनमा गिर्खा फेला पर्नु ।
  •     स्तनको आकारमा परिवर्तन आउनु ।
  •    स्तनबाट रगत वा पिप मिसिएको दूध आउनु ।
  •    स्तनको छालाको रङ परिवर्तन हुनु ।
  •     स्तनको मुन्टो भित्र गाडिनु ।
  •    स्तनमा भएको घांउ लामो समयसम्म निको नहुनु ।
सुरुको अवस्थामा स्तन क्यान्सर पत्ता लगाउने तरिकाः
१. नियमित स्वास्थ्य परीक्षणः
स्तन क्यान्सर सुरुकै अवस्थामा पत्ता लगाउन चिकित्सक वा तालिम प्राप्त स्वास्थ्यकर्मीहरूबाट स्तनको नियमित परीक्षण गराउनुपर्दछ ।
२.    आफैँबाट आफ्ना स्तनको परीक्षणः
स्तनमा नयाँ वा असामान्य गिर्खा, डल्लाहरू छन् कि छैनन् भनी थाहा पाउन २० वर्ष पुगिसकेका महिलाले आफैँले आफ्ना स्तन राम्ररी छामेर पत्ता लगाउन सकिन्छ । यो सरल एवं व्यावहारिक तरिका पनि हो । महिलाले प्रत्येक महिना नियमित रूपमा आफ्ना स्तन आफैँले राम्ररी हेरेर तथा छामेर स्तनमा भएका गिर्खा वा परिवर्तन थाहा पाउन सक्दछन् ।
दाहिने स्तनको परीक्षण देब्रे हातले र देब्रे स्तनको दाहिने हातले परीक्षण गर्नुपर्दछ । उत्तानो परेर, बसेर स्तन परीक्षण गर्दा सानातिना गिर्खा पनि फेला पार्न सकिन्छ । स्तनको आकार र छालामा भएको परिवर्तन पत्ता लगाउन ऐना अगाडि स्तन देखिने गरी परीक्षण गर्नु उपयुक्त हुन्छ । स्तनको सम्पूर्ण भाग वरिपरि र काखीमुनि कुनै गिर्खाहरू भए नभएको छामेर हेर्नुपर्दछ । साथै, आफ्ना स्तनको स्वरूप र रङमा कुनै परिवर्तन आए नआएको पनि ख्याल गर्नुपर्दछ । यसरी परीक्षण गर्दा गिर्खा फेला परेमा चिकित्सकद्वारा पुनः परीक्षण गराई स्तन क्यान्सर भए नभएको थाहा पाउन सकिन्छ ।
३.    म्यामोग्राफी परीक्षणः
म्यामोग्राफी प्रविधि स्तन क्यान्सर सुरुकै अवस्थामा पत्ता लगाउने विशेष प्रकारको एक्सरे परीक्षण हो । यस परीक्षणबाट स्तन क्यान्सर सुरुकै अवस्थामा पत्ता लगाउन सकिने भएकाले ४० वर्ष उमेर पुगिसकेका महिला तथा यो रोग लाग्न सक्ने सम्भावना बढी भएका महिलाले चिकित्सकको सल्लाह अनुसार यो परीक्षण गराउनुपर्दछ ।
स्तन क्यान्सरको निदान
१. एफएनएसीः स्तनमा आएका अस्वभाविक गिर्खाको कोष—कोषिकाहरू मसिनो सुईले झिकेर प्रयोगशालामा अनुसन्धान गरी क्यान्सर निदान गर्न एफएनएसी परीक्षण गरिन्छ ।
२. हिस्टोप्याथोलोजीः स्तनको प्रभावित भागबाट मासुको सानो टुक्रा निकाली प्रयोगशालामा ‘बायस्पी’ परीक्षण गरी स्तन क्यान्सरको निदान गरिन्छ । यस बाहेक क्यान्सर निदान गर्न अन्य परीक्षणहरू पनि आवश्यकता अनुसार गर्नुपर्ने हुन्छ ।
स्तन क्यान्सरको उपचार विधि
महिलाहरूको उमेर ढल्किँदै गएपछि स्तन क्यान्सरको खतरा पनि बढ्दै जान्छ । बिरामीको अवस्था र शरीरका अन्य भागमा क्यान्सर फैलिएको वा नफैलिएको आधारमा उपचार गर्नुपर्दछ ।
१. शल्यक्रियाः स्तन क्यान्सर लागेको भाग वा अङ्गलाई शल्यक्रिया गरी निकाल्ने प्रक्रिया ।
२. रेडियोथेरापीः क्यान्सर भएका कोष–कोषिकालाई मार्न विकिरणको प्रयोगबाट स्तन क्यान्सरको उपचार गर्ने विधि ।
३. केमोथेरापीः क्यान्सर विरुद्धको औषधीको प्रयोगद्वारा क्यान्सरको उपचार गर्ने पद्दति ।
४. हर्मोनथेरापीः हर्मोनको प्रयोगबाट स्तन क्यान्सरको उपचार गर्ने विधि ।
५. प्यालिएटिभ केयरः क्यान्सरका बिरामीको पीडा र असुविधा कम गर्न अस्पतालमै राखेर अपनाइने आवश्यक उपचार पद्दति ।
बिरामी र रोगको अवस्थाका आधारमा एक वा एकभन्दा बढी उपचार विधिको प्रयोग गर्नुपर्ने हुन सक्छ । पौष्टिक आहार, बिरामीको स्याहार–सुसार तथा परिवारिक स्नेहले क्यान्सर रोगको उपचारमा ठूलो महत्व राख्दछ ।
स्तन क्यान्सरको रोकथाम
महिलाले आफ्नो स्तनको आफैँ परीक्षण गरी गाँठा वा गिर्खा फेला पारेमा तथा स्तन क्यान्सरका अन्य लक्षण देखेमा तुरुन्त सम्बन्धित अस्पतालमा जचाउँनुपर्दछ । सुरुकै अवस्थामा रोग निदान गरी उपचार गरे स्तन क्यान्सर पूर्ण रूपमा निको पार्न सकिन्छ । चिल्लो तथा बोसोयुक्त खानेकुराहरू नखाने, सुर्तीजन्य पदार्थको सेवन नगर्ने, मोटोपना घटाउने र बच्चालाई दुई वर्षसम्म स्तनपान गराउनाले स्तन क्यान्सरको रोकथाम गर्न मद्दत पुग्दछ ।
Loading...

Post a Comment

Loading...

11111111
 
Top