Loading...
म्याग्दीको बेगखोला गाविसको बाँसबोट, लिस्ने र भजनी गाउँमा खसेको पहिरोका कारण ३४ घरपरिवार विस्थापित भएका छन् ।


शुक्रबार र शनिबार राति परेको अविरल वर्षासँगै जमिन धाँजा फाटेर बग्न थालेपछि तीन गाउँका ३४ परिवार विस्थापित हुनाका साथै थप ११ घर पहिरोको उच्च जोखिममा परेका छन् ।

गाउँको दुवैतिरबाट पहिरो खसेर जमिन बगेपछि पीडितलाई सुरक्षित स्थानमा सारिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पहिरोका कारण जोखिममा परेको वस्तीलाई रेडक्रस, पत्रकार, प्रहरी र स्थानीयवासीको सहयोगमा गाविस भवनमा सारिएको स्थानीय युवा विमल फगामीले बताउनुभयो । पहिरोले बाँसबोट गाउँ जाने झोलुङ्गे पुलमा क्षति पु¥याएको छ भने वर्षा भए पुनः पहिरो जाने सम्भावना रहेको उहाँले जानकारी दिनुभयो ।

विस्थापित परिवारलाई जिल्ला रेडक्रस शाखामार्फत कम्बल, त्रिपाल र ब्लाङ्केट उपलब्ध गराइएको छ । पहिरोको जोखिम कायमै रहेको हुँदा आवश्यक सतर्कता अपनाई पीडितलाई खाद्यान्नलगायत आधारभूत सहयोग गरिएको प्रमुख जिल्ला अधिकारी केशवराज आचार्यले जानकारी दिनुभयो । उहाँले पहिरोबाट थप क्षति हुन नदिन, अवरुद्ध सडक, पुल र विद्युत् सेवा सञ्चालन गर्न सम्बन्धित निकायमा पहल गरिएको बताउनुभयो ।

गत भदौ दोस्रो सातादेखि नै बेगखोलाको बाँसबोट र लिस्ने गाउँमा पहिरो झर्न थालेको थियो । शुक्रबार रातिको अविरल वर्षाले गाउँको जमिन चिराचिरा परेर पहिरो खस्ने खतरा बढेपछि उनीहरुलाई सुरक्षित ठाउँमा सारिएको छ । प्रहरी नायब उपरीक्षक विश्वराज खड्काले गाउँको दुवैतिरबाट पहिरो झरे पनि हालसम्म कुनै मानवीय क्षति नभएको बताउनुभयो ।

यसैबीच वर्षाकै कारण शनिबार राति बेगखोलाको ठाडोखोलामा आएको बाढीले बेगखोलाका नन्दबहादुर भट्टचन र झिल्के श्रेष्ठको घरमा क्षति पु¥याएको छ । त्यस्तै कुमारी गर्बुजा र सुनमाया सिंजालीको घर बाढी कटानको उच्च जोखिममा परेको छ । बाढीले बेनी–जोमसोम सडक बगाएपछि मुस्ताङको स्याउ ढुवानी, सोह्रश्राद्धका तीर्थयात्री, पर्यटक, कर्मचारी र सर्वसाधारणले सास्ती भोग्नुपरेको छ । बाढीका कारण वारपार गर्न समस्यामा परेका सर्वसाधारणलाई नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र र स्थानीयको सहयोगमा आवतजावत गराएको छ ।

त्यसैगरी अवरुद्ध सडक खुलाउन र बाढी पन्छाउन सडक विभागको डोजर परिचालन गरिएको छ । गत भदौ १६ गते मध्यरातमा बेगखोलाको ठाडोखोलामा आएको बाढीले ११ घरसहित बेनी–जोमसोम जोड्ने सडकको बेगखोलामाथिको पक्की पुल र झोलुङ्गे पुल बगाएको थियो । उक्त बाढीका कारण अन्य तीन घर प्रभावित भएका थिए ।

Loading...

Post a Comment

Loading...

11111111
 
Top