Loading...
अभिनेत्री सरिता लामिछाने विगत दुई दशकदेखि कलाकारितामा निरन्तर छिन् । वरिष्ठ निर्देशक तुलसी घिमिरेको चर्चित टेलिशृंखला ‘मुक्ति’ मा अभिनय गरेर एकाएक चर्चामा आएकी सरिताले त्यसपछि ‘गहना’, ‘जानकी’, ‘दुई दिनको जिन्दगानी’, ‘चाहना मनको’, ‘परिचय’लगायत थुप्रै टेलिशृंखलामा अभिनय गरिन् । हत्तपत्त फिल्ममा अभिनय गर्न नचाहने स्वभावकी सरिताले ‘सन्तानको माया’, ‘श्रीमान्–श्रीमती’, ‘हवल्दार सुन्तली’, ‘फिंगरप्रिन्ट’ र ‘सीता’ नामका फिल्ममा अभिनय गरेकी छिन् । आफूलाई रोल चित्त नबुझेसम्म ‘साइन’ नै नगर्ने सरिता चलचित्र कलाकार संघकी महासचिव पनि हुन् । ‘मुक्तिकी सरिता’ भनेर चर्चित भएकी उनले थुप्रै फिल्म ‘रिजेक्ट’ गरेकी थिइन् । सरिताले आफ्नो कलाकारिता यात्राबारे नयाँ पत्रिकाका लक्ष्मण सुवेदीलाई बताइन्
ऋषिजीको अनुरोधमा मुक्ति
कलाकारितालाई नै करिअर बनाउँला भन्ने मैले कहिल्यै पनि सोचेकी थिइनँ । अभिनय गरेर चर्चित हुँला भन्ने कल्पना पनि थिएन । त्यतिवेला ऋषिजी (ऋषि लामिछाने) निर्देशक तुलसी घिमिरेका फिल्ममा मुख्य सहायक निर्देशक भई काम गर्नुहुन्थ्यो ।

बच्चैदेखि हेर्दै आएकीले मलाई तुलसी दाइका फिल्म निकै मन पर्थे । यो ०५५ सालको कुरा हो, त्यतिवेला हाम्रो बिहे भएको लगभग एक वर्ष भएको थियो । तुलसी दाइ ‘मुक्ति’ सिरियल बनाउने योजनामा हुनुहुँदो रहेछ । त्यसमा ‘सरिता’ नामक मुख्य पात्र रहिछ । सरिताको भूमिका निर्वाह गर्नका लागि थुप्रै अभिनेत्री हेरिएको रहेछ । तर, कोही फाइनल भएका रहेनछन् ।

ऋषिजीले मलाई तिमी एकचोटि ‘ट्राइ’ गर न भन्नुभयो । मलाई अभिनय गर्ने रुचि थिएन । तर, धेरैपटक ऋषिजीले भनेपछि म तुलसी दाइलाई भेट्न गएँ । बच्चैदेखि उहाँका फिल्म हेर्दै आएकी र आफ्ना पति पनि उहाँसँग काम गर्ने भएकाले भेट्न जान कुनै अप्ठ्यारो लागेन । उहाँलाई भेटेँ ।

पछि, थाहा भयो, मलाई उहाँले मुक्तिकी सरिताका रूपमा छनोट गर्नुभएछ । मलाई गरूँ कि नगरूँ भन्ने भयो । तर, ऋषिजीले निकै हौसला दिनुभयो । मुक्तिमा अभिनय गरेँ ।

हिट भयो मुक्ति
अभिनयमै करिअर बनाउने सोचेकी, सपना बुनेकी भए पो मौका पाउँदा ओभर एक्साइडेट भइन्थ्यो । त्यसकारण म धेरै खुसी भइनँ । सामान्य नै लाग्यो । तर, जब सिरियल प्रसारण हुन सुरु भयो, चारैतिरबाट मेरो कामको तारिफ हुन थाल्यो । मेरो कामको तारिफ हरेक हप्ता दोब्बर हुँदै भयो । त्यतिवेला भने मलाई निकै खुसी लाग्यो । नसोचेको सफलता हासिल भएकोमा मै हुँ त त्यो सरिता भन्ने लागेको थियो । नारीको विषयमा बनेको २० भागको सशक्त सिरियल थियो मुक्ति । जहाँ जाँदा पनि सबैले मुक्ति र मेरो तारिफ गरेको पाएँ । मुक्ति बन्द भएपछि पनि मान्छेहरूले मलाई टिभीमा हेर्न चाहिरहे । तर, मलाई त्यति धेरै मोह थिएन ।

१८ फिल्म रिजेक्ट गरेंँ
मुक्तिको सफलतापछि मलाई टेलिसिरियल तथा फिल्मबाट अफर आइरहन्थ्यो । तर, मलाई काम गरिहालूँ भन्ने लागेन । त्यसैले कसैलाई के, कसैलाई के भन्दै पन्छिँदै बसेँ । मलाई मुक्तिपछि १८ वटा फिल्मबाट अफर आएको थियो । तर, मैले स्वीकार गरिनँ ।

किशोर राना दाइले ‘सन्तानको माया’ फिल्ममा अफर गर्नुभयो । ऋषिजीले यो फिल्मचाहिं तिमीले गर्नैपर्छ भन्नुभयो । त्यसमा आफ्नो भूमिका निकै राम्रो लागेकाले पनि मैले ‘ओके’ गरेँ । त्यतिवेला म च्यानल नेपालमा प्रोग्राम चलाउथे“ । मिडियाकर्मी भएकाले पनि म चलचित्रकर्मीसँग दिनहुँ ठोक्किइरहन्थेँ । जसले गर्दा किशोर दाइको त्यो फिल्म अस्विकार गर्न सकिनँ ।

Loading...

Post a Comment

Loading...

11111111
 
Top